राजनीति

सरकारले क्यान्सर रोग न्युनीकरणका लागि कुनै कसर बाँकी राख्दैन : मन्त्री बस्नेत



काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

आज विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनीकरणका लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘क्यान्सर रोगलाई यो देशबाट न्युनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै  भन्न सक्दैनौं । न्युनीकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । यसमा हामी आ–आफ्नो क्षेत्रबाट जे सक्छौं, जति सक्छौं । कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला’ मन्त्री बस्नेतले भने, ‘यसमा लामो लामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरु यहाँ अहिले उपस्थिति हुनुहुन्छ । यसले नेपालमा क्यान्सर रोगका बिरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’  

‘त्यसको निम्ति जग तयार पार्नुपर्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोग बिरुद्ध लड्नेछौं’ उनले भने, ‘यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी हुनेछैन । मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु ।’
त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग बिरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए ।