अर्थ

जीबी समूहद्वारा ६ सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन



काठमाडौँ, २२ माघ । पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौँ जस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी योभन्दा बढी हुन सक्ने जानकार बताउँछन् ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका लागि बचत संकलन गर्न उपत्यकाका विभिन्न ठाउँमा शाखा खोलेको थियो । स्वर्णलक्ष्मीका शाखाबाट मात्रै करिब १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको पीडित बचतकर्ता सुमन खनालको भनाइ छ । ‘स्वर्णलक्ष्मीमा मात्र कुल बचतकर्ता करिब १३ हजार रहेको देखिन्छ । कतिपयको खाता दोहोरिएको होला,’ उनले भने, ‘तर, सहकारीका व्यवस्थापकले दिएको जानकारी अनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।’ बचत फिर्ता हुने नदेखिएपछि आफूहरू कानुनी प्रक्रियामा जाने तयारीमा रहेको खनालको भनाइ छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय कालीमाटीमा रहे पनि महाराजगन्ज, न्युरोडलगायत स्थानमा शाखा सञ्चालनमा थिए । पछिल्ला दुई वर्षदेखि संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन । स्वर्णलक्ष्मीका सञ्चालकविरुद्ध गुनासो र उजुरी आइरहेको सहकारी विभागले पनि स्विकारेको छ । काठमाडौंमा सञ्चालित सहकारी वाग्मती प्रदेशको कार्यक्षेत्रभित्र रहेकाले आफूहरूकहाँ आएको उजुरी पनि उतै पठाइएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए । ‘जीबी राई समूहले सञ्चालन गरेका सबै सहकारी संस्थाविरुद्ध उजुरी आइरहेका छन् । तर, यो समूहले हरेक प्रदेशमा फरक नाममा सहकारी संस्था दर्ता गरेका छन् । यसकारण स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी विभागको कार्यक्षेत्रबाहिर छ, त्यसैले वाग्मती प्रदेशमा पठाइएको छ,’ उपाध्यायले भने ।

स्वर्णलक्ष्मी सहकारीबाट पैसा फिर्ता नभएको भन्दै गत पुससम्म पाँच सयभन्दा बढीले उजुरी गरेको वाग्मती प्रदेश, सहकारी मन्त्रालयको सहकारी महाशाखाले स्विकारेको छ । यद्यपि परेका उजुरी सम्बन्धमा प्रदेश कार्यालयले पनि कुनै कारबाही अघि बढाएको छैन ।

पछिल्लो दुई वर्षदेखि पैसा नपाएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता आङकाजी शेर्पाको भनाइ छ । महँगो ब्याज पाइन्छ भनेर शेर्पाले उक्त संस्थामा ४६ लाख रुपैयाँ बचत गरेका थिए । ‘डेढदेखि दुई वर्ष हुन लाग्यो, पैसा पाउन छाडेको । कालीमाटीस्थित मुख्य कार्यालय नै ५ महिना अघिदेखि बन्दजस्तै छ,’ उनले भने, ‘संस्थाका अध्यक्ष राई, कोषाध्यक्ष कुमार रम्तेल, ऋण विभाग प्रमुख सुरज श्रेष्ठलगायत व्यवस्थापक सम्पर्कमा छैनन् ।’

त्यस्तै, बुटवलमा सञ्चालित सुप्रिम सहकारीमा करिब ८ हजार बचतकर्ताको १ अर्ब १५ करोड रुपैयाँ निक्षेप रहेको र त्यसमध्ये करिब ९४ करोड रुपैयाँ राई समूहले हिनामिना गरेको संस्थाकै वर्तमान अध्यक्ष ओम गुरुङको भनाइ छ । गुरुङ आफू पनि पीडित रहेको भन्दै बचतकर्तासँग आन्दोलनको नेतृत्व गर्दै प्रहरी, कम्पनी रजिस्ट्रार कार्यालय र नियामक निकायहरू धाइरहेका छन् । ‘संस्थामा मेरो निर्णय केही चल्थेन, जीबी राई र सागर केसीले डुबाए,’ उनी भन्छन् ।

सुप्रिम सहकारीबाटै बिनानियम, बिनाप्रक्रिया, बिनाधितो गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) मा १० करोड ७४ लाख रुपैयाँ ट्रान्सफर गरिएको थियो । २०७७ असोज ११ देखि २०७८ पुस १२ सम्म ९ पटक गरेर यो रकम गोर्खा मिडियाको खातामा सारिएको थियो । योमध्ये २०७८ वैशाख ५ मा तत्कालीन सञ्चारकर्मी रवि लामिछानेमार्फत गोर्खा मिडियाको खातामा सारिएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा समेत यही रकम रुजु गराएर लामिछानेले गोर्खा मिडियाको सेयर लिएका थिए ।

गोर्खा मिडियाजस्तै जीबी राईको नेचर नेस्ट प्रालि र उनको व्यक्तिगत खातामा समेत मनमौजी रूपमा पैसा सारिएको थियो । सहकारीमा मनोमानी गर्न राईले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका नेता दीपेश पुनलाई पनि सुप्रिम सहकारीको सचिव बनाएका थिए । यो सहकारीमा कुमार रम्तेल कोषाध्यक्ष बनेका थिए । लामिछानेले टेलिभिजन छाडेपछि उनीबाट लिएको सेयर राईले रम्तेललाई बेचेका थिए । पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगी काण्डमा रम्तेल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

राईको समूहले सुप्रिम सहकारीको पैसा चलाउन सागर केसीलाई व्यवस्थापक बनाएको थियो । गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट प्रालि र जीबी राईका नाममा गएको रकम ट्रान्सफर केही भौचरबाहेक धेरै कागजात बुटवल कार्यालयमा नरहेको र साधारणसभा एवं सञ्चालक समितिका माइन्युटसमेत लिएर केसी पनि सम्पर्कविहीन भएको गुरुङ बताउँछन् । भन्छन्, ‘सागरसँग पनि एक महिनाअघिसम्म ह्वाट्सएपमा कुराकानी हुने गरेको थियो । तर अहिले सम्पर्कमा छैनन् ।’

पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित अड्डा–अदालत धाउन थालेको धेरै भइसकेको छ । जीबी राईकै समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष महानगरको अध्ययन समितिको छ ।

पीडित बचतकर्ताले गत साउनमा नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।

महानगरको प्रतिवेदनमा सहकारीको रकम योजनाबद्ध रूपमा विभिन्न फर्ममा अवैध लगानी गरिएको, नक्कली कम्पनी खडा गरेर पनि पैसा हिनामिना गरिएको, कमसल धितो र बिनाधितो पनि ऋण लगानी गरेको उल्लेख छ । गोर्खा मिडिया नेटवर्कदेखि नेचर हर्ब र नेचर नेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम लगानी गरिएको प्रतिवेदनमा खुलाइएको छ । त्यस्तै तत्कालीन सञ्चारकर्मी लामिछानेका नाममा एक करोडको कृत्रिम खाता खोलेर कारोबार गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालकहरूबाट पीडित बचतकर्ताहरूले विस्तृत अध्ययनका लागि जाहेरी दिन खोजे पनि प्रहरीले नमानेको बताएका छन् । सहकारीको बचत अपचलन गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ८० जनाविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले दुःख दिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठको भनाइ छ । ‘हामीले माननीय रवि लामिछानेसहित ८० जनालाई कारबाहीको माग गर्दै जाहेरी दिन खोजेका थियौं,’ उनले भने, ‘पहिला तीनपुस्ते स्पष्ट खुलेन भनेर फर्काइयो । पछि तीन पुस्ता खुलाएर १८ जनाविरुद्ध जाहेरी दर्ता गर्न खोज्यौं । त्यतिबेला सहकारी ऐन देखाएर पन्छाउन खोजियो ।’

सहकारी ठगी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयको अनुमति लिएर मात्र पुनः अनुसन्धान गर्नुपर्ने भएकाले जाहेरी दर्ता गर्न ढिलाइ भएको जवाफ दिएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखको व्यस्तताले जाहेरी लिन केही समय ढिला भएको बताए । तर, प्रहरीले असहयोग गरे पनि आफूहरू पछि नसर्ने पीडितहरूको भनाइ छ ।

‘सोमबार लामिछानेसहित थप ८० जनाविरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जान्छौं, ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया प्रालिमा अवैध रूपमा सहकारीको करोडौं रुपैयाँ लगानी भएको छ,’ संघर्ष समितिका श्रेष्ठले भने, ‘उहाँ कम्पनीको प्रबन्ध निर्देशक भएकै बेलामा ऋण गएको छ । उहाँकै नामबाट पनि विभिन्न सहकारीबाट पैसा टेलिभिजन कम्पनीमा गएको छ । मलाई थाहा थिएन भनेर उहाँले सुख पाउनु हुन्न । अनुसन्धानको दायरामा ल्याएर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

प्रहरीले गहन अनुसन्धान नगरेको, पीडितको दाबीअनुसार जाहेरी लिन नमानेको र फरार अभियुक्तलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै पीडितहरूले सरकारविरुद्ध दबाब बढाइरहेका छन् । उनीहरूले केही दिनअघि मात्र पोखरामा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै भेटेर ज्ञापनपत्र बुझाएका थिए । त्यसअघि पोखरा आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि उनले ज्ञापनपत्र बुझाएका थिए । नेपाल प्रहरीले केही समयअघि मात्रै जीबी राईसँगै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

राई समूहले नेपालगन्जमा समानता नामको सहकारी सञ्चालन गरेको थियो । उक्त संस्थामा करिब ६ सय बचतकर्ताको १५ करोड रुपैयाँभन्दा बढी निक्षेप छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार समानता सहकारीका पीडितबाट अहिलेसम्म ९४ जनाको उजुरी परेको छ । सञ्चालक समितिका सात जनासहित १५ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति पाए पनि प्रहरीले कसैलाई फेला पारेको छैन ।

चितवनमा सञ्चालित साहारा सहकारीबाट मात्र करिब ८ हजार बचतकर्ताको ८६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । चितवन प्रहरीका अनुसार बचतकर्ताबाट उजुरी आइरहेको छ । साहारा चितवनबाट पनि ११ करोड ७४ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारिएको थियो । यही समूहले वीरगन्जमा सञ्चालन गरेको सानोपाइला सहकारीमा मात्र करिब ८ सय बचतकर्ताबाट १ अर्ब ३५ करोड ४१ लाख ३१ हजार बचत संकलन भएको थियो । यसमध्ये १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ फिर्ता गराइदिन भन्दै प्रहरीमा उजुरी परेको छ । त्यस्तै, राई समूहले बारामा सुप्रिम सहकारी सञ्चालन गरे पनि त्यसको बचतकर्ता, बचत रकमलगायत कुनै पनि विवरण कुनै निकायसँग उपलब्ध छैन ।

यो समूहले सञ्चालन गरेका सात सहकारीमध्ये सुरुमा तीन वटामा जीबी राई आफैं अध्यक्ष थिए भने बाँकी चार वटामा कुमार रम्तेललाई अध्यक्ष राखिएको थियो । सहकारी ऐनअनुसार एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । नियामक निकायलाई झुक्याउन यो समूहले फरक–फरक प्रदेशमा पुगेर सहकारी दर्ता गरेको थियो । तर, एउटै समूहले ५० हजारभन्दा बढी बचतकर्ताको रकम संकलन गर्दा पनि नियामक निकाय भने ‘थाहै नपाएर’ मौन बसेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।