समाचार

आगो ताप्ने क्रममा सासू-बुहारीको मृत्यु



डडेलधुरा, २२ माघ । डडेलधुराको अमरगढी नगरपालिका–१ मा गए राति आगो ताप्ने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने सासू–बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा अमरगढी–१, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार, राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस