राजनीति

टिआरसी विधेयक पारित गर्नुपर्छ: अध्यक्ष ओली



काठमाडौँ, २२ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । 

आज जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरू नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताए । उनले पीडितहरूले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताए । ओलीले मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए । 

ओलीले भने, ‘टिआरसी पास गर्नुपर्छ । यसमा मस्यौदामा केही नमिलेका कुराहरू छन् । त्यसलाई मिलाएर पास गर्नुपर्छ । नमिल्नुपर्ने कारण नै छैन । पीडितहरूले न्याय पाउनुपर्छ । पीडित केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ । मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी, दण्डहीनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ ।’