Banner News

गठबन्धन सरकारको अयोग्यताले देश छियाछिया भयो : उपाध्यक्ष पौडेल



काठमाडौँ, २२ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् । 

आज प्रेस चौतारी नेपालको २६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले अहिलेको मुलुकको परिस्थिति कहाली लाग्दो रहेको बताए । उनले देशको अहिलेको स्थिति मल्टी अर्गन फेलियर रहेको बताए । उनले देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाए ।

उनले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए । प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भएपनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए ।

प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरु नै बाझिरहेको उनले बताए । उनले सरकारले अर्थतन्त्रका समस्या र समाधानमा अलमलमा रहेको बताए । उनले अहिले साधारण खर्च धान्नसक्ने गरी राजश्व परिचालन हुन नसकेको बताए । पुँजीगत खर्चको अवस्था चिन्ताजनक रहेको उनले बताए ।