Banner News

एमाले सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष ओली



महोत्तरी, २३ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।  

सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे ।

उनले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दाबी समेत गरे ।