Banner News

स्काउटको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी



काठमाडौँ, २३ माघ । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मन्त्रालयको निर्देशनपछि तदर्थ समितिका अध्यक्ष रहेका लोक बहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन प्रक्रियालाई अवरोध नगर्न अन्तरिम आदेशको माग गरेका थिए । सोही रिटमाथि मंगलबार भएको प्रारम्भिक सुनुवाइमा निर्वाचन तालिका यथा अवस्थामै राख्न विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि बोलाएको हो । 

सर्वोच्चले अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा दुई दिनको समय दिएर आगामी माघ २५ गतेको पेसी तोकेको छ । विपक्षीको तर्फबाट लिखित जवाफ नआए पनि माघ २५ गते सुनुवाइ भई अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा सुनुवाइ हुन लागेको हो । यस मुद्दासँगै अन्य नेपाल स्काउटको सम्बन्धमा अदालतमा रहेका पाँचवटा मुद्दालाई एकैसाथ राख्न समेत आदेश भनिएको छ ।

नेपाल स्काउटको तदर्थ समितिले आगामी माघ २७ गतेका लागि नेपाल स्काउटको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । नयाँ समिति चयन गर्न हुन लागेको निर्वाचन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।