Banner News

अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत



काठमाडौँ, २४ माघ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् ।

बुधबार इकोनोमिक भिडियो एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए । उनले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे । अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए । परिस्थितिको राम्रो आकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो । उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताए ।

उनले भने, ‘पहिलेदेखि बानी परेको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै समय लाग्छ । तर कम्तीमा श्रीलङ्का बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ । समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्याङ्कले नै देखाइरहेको छ । ‘ऋण लिने र दिने दुवैले स्थितिको मूल्याङ्कन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैंकहरुलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ । ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ । खाएपछि तिर्नुपर्छ । यस्तो भ्रममा नपर्नुहोला । कसै–कसैले तपाईँलाई ठग्न पनि सक्छन् । अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन ।’