राजनीति

राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्छ : सांसद थापा



काठमाडौँ, २४ नाघ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले राजनीतिक दल, संसद्, सरकार र संसदीय समितिले काम गर्ने तरिका बदल्नुपर्ने बताएका हुन् । सांसद थापाले राजनीतिक दलहरूले संसद्मा काम गर्ने तरिका बदलेर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए । संसद्लाई आम नागरिकसँग जोड्नका लागि भूमिका खेल्ने थापाको भनाइ थियो । संसद्को यसअघिको अधिवेशनबाट संसद् र सरकार सन्तुष्ट नरहेको थापाको भनाइ थियो । उनले संघीयता र संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि सरकारले विधेयक संसद्‍मा ल्याउनुपर्ने बताए ।

‘संसद्‌भित्र रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने भएको छ,’ उनले भने, ‘यो पटकको संसद्को अधिवेशन थप जिम्मेवार र क्रियाशील बनाउनेछौं ।’

यस्तै उनले ‘समुदायसँग कांग्रेस’ अभियानका क्रममा ठूला—साना पूर्वाधारको बेहाल अवस्था रहेको बताए । ठीक गराउने सन्दर्भमा जिम्मेवारी र मौका पनि रहेको बताए । अभियानका क्रममा आफू नडराएको भन्दै कही न कही भरोसा गुम्दै गएको उनको भनाइ छ । ‘हाम्रा आयोजनाको बेहाल छ । यो हामी सबैको सामुहिक असफलता हो । हामीले पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं । केही न केही कुरा ठीक भइरहेको छै,’ उनले भने, ‘सार्वजनिक खरिद ऐनमा कसले कतिमा बनाउने प्रतिस्पर्धा गराउँछौँ, कसले कति समयमा बनाउने भन्ने व्यवस्था पनि त्यहाँ छ । त्यो कानुनी व्यवस्थाको प्रयोग हामीले गरेका छैनौं । कानुनमा समस्या भए कानुन बनाउने ताकत यो संसदसँग छ । संसदले यसमा काम गर्नुपर्ने छ ।’

‘राजनीतिक, आर्थिक सामाजिक, सांस्कृत अधिकार पाएको कुरामा नागरिकले ठूलो गौरव गरेका छन् । तर, भरोसा गुमाएको छ,’ उनी भन्छन्, ‘राजनीतिक दलप्रति मात्र होइन, अड्डा अदालत, प्रहरी, प्रशासन, बैंक वितीय संस्था सबैसँगको विश्वास गुम्दै गएको छ । यो विश्वासलाई पुर्नस्थापित गर्ने पर्छ । यसको सबैभन्दा बढी जिम्मेवारी सरकार सञ्चालन गर्नेले नै हो ।’

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्ने बताए । उनले भने–‘विश्वविद्यालय सुधारका लागि सरकारले यही सदनमा उच्च शिक्षाको विधेयक ल्याउँदै छ । त्यो विधेयकमा यो संसदले काम गर्नुपर्ने छ । हाम्रो विश्वविद्यालयको स्वायत्तता, विश्वविद्यालयले मौलिकता पनि कसरी कायम गर्ने, विश्व बजारका लागि हाम्रा विश्वविद्यालय कसरी तयार हुने भन्ने बारेमा कानुनमा हामीले सँगै काम गर्नुपर्नेछ ।’

उनले नेपालको सिमाना क्षेत्रमा दर्जनौँ नर्सिङ कलेज खुलेको भनेर हल्ला आए पनि ३ वर्षमा ३ सय भन्दा बढी विद्यार्थी नर्सिङ पढ्न देशबाहिर नगएको बताए । उनले नेपालका विश्वविद्यालय नसुधारेका कारण विभिन्न देशमा विद्यार्थी अध्ययनका लागि जाने गरेका कारण विश्वविद्यालय सुधार गर्न आवश्यक रहेको बताएका छन् ।