समाचार

करेन्ट लागेर एक युवाको मृत्यु



सुर्खेत, २४ माघ । करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढाको मृत्यु भएको हो । दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

उनी एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो । प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइवर विस्तारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।