Banner News

रास्वपाद्वारा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता 



काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सवारीसाधन दुर्घटना न्यूनीकरणका उपायसहित संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । पार्टी सचेतक निशा डाँगीले दिएको जानकारीअनुसार प्रस्ताव दर्ता गराइएको हो । 

सडक सुरक्षासम्बन्धी राष्ट्रिय लक्ष्य, उद्देश्य, नीति तथा रणनीति बनाई दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तत्कालीन मन्त्रिपरिषद्ले ०७३ पुसमा सडक सुरक्षा परिषद् गठन गरेको भन्दै उनीहरूले परिषद् सञ्चालनका लागि ‘न कानुन बन्यो, न बजेट नै विनियोजन’ भएको उल्लेख गरेका छन् । 

तसर्थ, सडक सुरक्षा परिषद्लाई क्रियाशील बनाउनका निम्ति छलफलको माग प्रस्ताव गरिएको छ । यस्तै, विद्यमान कानुनमा दिगो, सुरक्षित, जोखिममुक्त र भरपर्दो यातायात सञ्चालन र सुरक्षा प्रणालीको विकासका लागि आवश्यक पर्ने दूरदृष्टि र उद्देश्यको अभाव छ भएकाले छलफलको माग गरिएको छ । 

“सडक दुर्घटना न्यूनीकरण गर्न र पैदल यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न नयाँ कानुन आवश्यक भएकोले सोसम्बन्धी छलफल गर्न आवश्यक छ,” दर्ता गरिएको प्रस्तावमा लेखिएको छ ।