समाचार

पिकअपको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते



काठमाडौँ, २५ माघ । सिन्धुपाल्चोकमा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।

वाग्मती प्रदेश प्रहरी कार्यालयअ अनुसार बुधबार साँझ चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा बा१९च९१२३ नम्बरको पिकअपले बा.प्र.०२–०२७ प. ८५६२ नम्बरको स्कुटी र बा.४२प. ४१६० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटी र मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । उपचारका क्रममा स्कुटी चालक दोलखाको वैतेश्वर गाउँपालिका–७ का २० वर्षीय प्रज्वल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा बुधबारै राति ९ः५ बजे उनको मृत्यु भएको हो ।

घाइते भएका स्कुटीमा पछाडि सवार र मोटरसाइकल चालकको उपचार जारी छ । पिकअप चालक, पिकअप, स्कुटी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।