राजनीति

माओवादीले बोलायो स्थायी समिति र केन्द्रीय समिति बैठक



काठमाडौँ, २५ माघ । नेकपा (माओवादी केन्द्र)ले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ ।

फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने सचिव गणेश साहले बताए । 

साहका अनुसार शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ । आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।