राजनीति

नेता बस्नेतको प्रश्न: एक लाख बजेट ल्याउने नसक्ने जनप्रतिनिधिले ट्वाँर-ट्वाँर कराएर हुन्छ ?



भक्तपुर, २५ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेका सवै तहका कमिटीहरुमा कुनै व्यक्तिका मान्छे नभई पार्टीका मान्छेले योग्यता र क्षमताका आधारमा नेतृत्वमा हुने उद्घोष गर्नुभएको छ ।

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ को चौथो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पार्टीमा व्यक्ति वा पद अस्थायी हुने भएता पनि पार्टी जहिले पनि स्थायी हुने भएकाले एमालेका कार्यकर्ता जहिले पनि व्यक्तिभन्दा माथि उठेर पार्टीको मार्ग निर्देश अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । ‘एमालेका सवै तहमा व्यक्तिको मान्छे नभई पार्टीको मान्छे भएर अगाडी बढ्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पार्टी स्थायी हुन्छ, व्यक्ति अस्थायी हुन्छ ।’

मेहनत नै सफलताको कडी भएको उल्लेख गर्दै नेता बस्नेतले एमालेका सवै कमिटी तथा जनवर्गीय कमिटीहरुमा भित्र गुट उपगुट हुनु नहुने धारणा राख्नुभयो । ‘हामी होऔंला, नहोऔंला तर पार्टी जहिले पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यही भएर नेतृत्व सकेसम्म सर्वसम्मत गर्नुपर्छ । चुनाव नै गर्ने भएपनि व्यक्तिगत ढंगले गर्नुपर्छ । प्यानल बनाएर चुनाव लड्ने स्वीकार गर्न सकिँदैन ।’

एमालेको नेतृत्वमा अघिल्लो पाँच वर्ष भक्तपुरको विकास र समृद्धि तिव्रगतिमा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरको विकास पाँच दलीय गठबन्धनले के गरिरहेको छ ? हामीले तिव्र गतिमा अगाडी बढाएका थियौ । अहिले तिव्र गतिमा ओरालो लागिरहेको छ । शुन्य गतिमा पुगेको छ ।’ भक्तपुरको संघीय निर्वाचनमा एमालेले नजिते पनि जनताको मन जितिरहेको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसले निर्वाचन जिते पनि कुन दुलोमा लुकेको छ ? भनि प्रश्न गर्नुभयो । कांग्रेसबाट निर्वाचित संघीय सांसद दुर्लभ थापाले भक्तपुरको विकासको लागि एक वर्षमा एक लाख रकम समेत ल्याउन नसकेको भन्दै उहाँले गठबन्धनका कारण भक्तपुरको विकासको पँधेरो सुकेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा एमालेले भक्तपुर क्षेत्र नं. २ जित्छ । कोही माइकलाले हराउन सक्दैनन् । सोही अनुसार पार्टीको विरुद्धमा नकारात्मक प्रचार गर्ने विरुद्ध अनेमसंघ लाग्नुपर्छ । एमालेका सवै नेता तथा कार्यकर्ता लाग्नुपर्छ । अहिले पनि चुनाव नजिते पनि जनताको मन एमालेले जितिरहेको छ । कांग्रेसले जितेको एक वर्षसम्म कुन दुलोमा पसेर लुकेका छन् ? आज भक्तपुरको विकासको पँधेरोमा पानी सुकेको छ । निर्वाचित जनप्रतिनिधिले एक लाख बजेट ल्याउने हैसियत छैन । ट्वाँर ट्वाँर कराएर हुन्छ ? त्यही भएर भक्तपुरका जनताले बुझ्न थालेका छन् पँधेरोको महत्व । अहिले पसल पसल, चोक चोकमा त्यो समिक्षा हुन थालेको छ ।’

अनेमसंघको नेतृत्वकै कारण हाल तुलनात्मक हिसावले महिला र पुरुषबीचको विभेद कम हुँदै गएको उल्लेख गर्दै उहाँले एमालेको मार्गदर्शन नै मुलुकको मार्गदर्शन भएको दावी गर्नुभयो । सामाजिक न्यायको आन्दोलनको नेतृत्व कुनै अराजक तत्वले बोकेर सम्भव नभएको उल्लेख गर्दै उहाँले परातनवादी तथा यथास्थितीवादीहरुले मुलुकको परिवर्तन गर्ने कल्पना समेत गर्न नसकिने बाउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा भाइरल हुने अवस्था बनेको छ । यो ट्रेनलाई तोड्नै पर्छ । महिला हक अधिकारको प्राप्तीको आन्दोलनबाट धेरै महिलाहरु शहिद हुनुभएको छ । धेरै घाइते हुनुभएको छ । यो आन्दोलनमा संस्थागत ढंगले जबज र एमालेको मार्गदर्शमा तपाईहरुले खेल्नुभएको योगदान गौरवपूर्ण छ । तर योगदानमा नै रमाएर वर्तमानको संघर्ष र भविष्यको चुनौतीलाई सामना गर्न सकेनौं भने हाम्रो संगठनको अस्थित्व समाप्त हुन्छ । सामाजिक न्यायको आन्दोलनको नेतृत्व कुनै अराजक तत्वले बोकेर सम्भव छैन । कुनै पुरातनवादी तथा यथास्थितीवादीहरुले बोकेर सम्भव नै छैन ।’

महंगी, पूँजीगत खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले सरकारकै कारण बैंक नै मिटर व्याजी जस्तो भएको भन्दै आक्रोस जनाउनुभयो । एमालेले गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारीको अभियान ल्याएर आर्थिक समृद्धिको नेतृत्व गरेको स्मरण गर्दै नेता बस्नेतले हाल आएर भिआइपी ठगहरु सहकारीमा घुसेको बताउनुभयो । त्यही भिआइपी ठगहरुले नै पपुलिष्ट नारा दिएर जनतालाई ठगिरहेकाले त्यसप्रति सचेत हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यस्ता पपुलिष्टहरुको विरुद्धमा र जनताको पक्षमा खुलेर लाग्न एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज सहकारीमा भिआइपी ठगहरु घुसे । भिआइपी ठगहरुले अनेक पपुलिष्ट नारा दिएर ठगिरहेका छन् । म धन्यावद दिन चाहन्छु कास्की प्रहरीलाई, सीआइवीलाई । सुर्यदर्शन जस्ता सहकारीलार्य अनुसन्धान गर्ने हिम्मत गर्यो । अब जीवी राईमात्र हैन, रवि लामिछानेहरु पनि छानविनको दायरामा आए । पूर्वडिआईजी छविलाल ओझाको घरमा प्रहरीले छापा मारेको समाचार सुन्न पायौं । यी हाई प्रोफाइल व्यक्तिहरुले सहकारी ठग्ने, अरु के के ठग्ने अनि उ नै जनताको नायकको अर्शिवाद दिँदै हिड्ने ? स्वतन्त्र पार्टीको घण्टी बजाउने पुजारीहरुको विरुद्ध हाम्रो साथीहरुसँग हिम्मत छैन नि त किन भने गाली खाइन्छ ।’ कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, अनेमसंघ जिल्ला अध्यक्ष उत्तरा नेपाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।