Banner News

हिन्द महासागर भूगोलका रूपमा सीमित नभई संसारको सभ्यताको केन्द्र : मन्त्री साउद



काठमाडौँ, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गरेका छन् ।

अस्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा मन्त्री साउदले हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताए ।

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा जारी सम्मेलनमा उनले हिन्द महासागरलाई भूगोलका रूपमा सीमित नभई संसारको सभ्यताको केन्द्रका रूपमा रहेको बताए । उनले भने, “हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्त्वका दृष्टिकोणले हेर्नुपर्दछ ।” मन्त्री साउदले थपे, “यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । समुद्री आतंकवाद, डकैती, लागुऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानुनी आप्रवासन एवं नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ ।”