राजनीति

पैसा नभएर उपचार रोकिँदैन, मर्नुपर्ने अवस्था आउँदैन: मन्त्री बस्नेत



सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको दावी गरे । मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताए ।

उनले भने, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिँदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला, म निःशुल्क उपचार गर्नेछु ।”