राजनीति

केन्द्रीय समिति अध्यावधिक गर्न रेशम चौधरीले दिए निवेदन



काठमाडौँ, २९ माघ । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

महाधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष रेशम चौधरीसहितको विवरण अध्यावधिकका निम्ति निवेदन बुझाइएको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा पार्टीले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा गरिएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र तोकिएबमोजिमका अरू विषयको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार नागरिक उन्मुक्तिको विवरण पेश गरिएको हो ।

गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । टीकापुर घटनाका निम्ति जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरी अध्यक्ष चयन भएपछि वैधानिकतामाथि प्रश्न उठाइएको छ । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् ।