समाचार

दिक्तेलको खाल्लेमा बस सेवा सञ्चालनमा



खोटाङ, १ फागुन । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे ।   सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत थिए । 

आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए । दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रालिको दुईवटा बस सञ्चालन गरेको थियो ।