राजनीति

कोशी मुख्यमन्त्री आलोचनाको घेराबन्दीमा



विराटनगर, १ फागुन  । सार्वजनिक मञ्चबाट दिएको पछिल्लो अभिव्यक्तिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आलोचित बनेका छन् ।  सोमबार मोरङको सुन्दरहरैंचास्थित साँजीलाल माविको वार्षिकोत्सवमा उनले आफू विद्यार्थीकालमा सधैं लास्ट बेन्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको तर फस्ट बेन्चर खरिदार भएर भुँडीमात्र भर्न ठिक्क भएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मुख्यमन्त्री कार्कीले आफूहरूको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चार संगठनद्वारा उनले आफ्नो अभिव्यक्तिमा क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘म कक्षामा लास्ट बेन्चर हुँ, फस्ट बेन्चमा बस्नेले केवल लेख्न र पढ्नमात्र जान्यो,’ उनले भनेका थिए, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, ऊ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।’

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर वन, एमालेनिकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्रनिकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र एकीकृत समाजवादीनिकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन् ।

तीन दिनअघि चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दा मुख्यमन्त्री कार्की सहमति र सहकार्यविपरीत गएको भन्दै सत्तारूढ समाजवादी र कांग्रेसको संसदीय दलले तीव्र आलोचना गरिरहेको छ । कार्कीले कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । त्यसमा असन्तुष्टि जनाउँदै कांग्रेस नेता उद्धव थापा र समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले कार्कीलाई काँध थाप्न नसकिने बताएका थिए । थापाले कार्कीलाई साथमा लिएर अगाडि बढ्न कांग्रेसले सक्ने स्थिति नभएको बताएका छन् भने राईले आफूसँगको सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै गठबन्धनको विकल्प खोज्ने स्थिति आएको प्रतिक्रिया दिएका थिए । जसपा सरकारमा नआएको अवस्थामा एक मन्त्री एसलाई र कांग्रेसलाई एकमात्र राज्यमन्त्री दिने गरी सहमति भएको बताइएको छ । तर कार्कीले एसलाई थप मन्त्रालय दिएनन् भने कांग्रेसबाट दुई राज्यमन्त्री नियुक्त गरे । मन्त्रिमण्डलमा हाल एसबाट एक जना मात्र कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री भएलगत्तै कार्कीले एमालेका रामबहादुर मगर र कांग्रेसका शमशेर राईलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसमाथि मुख्यमन्त्री कार्कीले दुई साताअघि मात्रै प्रदेश सांसद र पदाधिकारीलाई सुविधा दिने गरी चोरबाटोबाट अध्यादेश ल्याएको भन्दै एमाले उनीसँग थप बिच्केको हो । अध्यादेश फिर्ता नलिए समर्थन फिर्ता लिएर अन्य विकल्पको खोजी गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले चेतावनी नै दिइसकेका छन् । कान्तिपुरबाट