अर्थ

नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशत घट्यो



काठमाडौँ, १ फागुन । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.५९ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २५ करोड खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । कम्पनीले दूरसञ्चार सेवाबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ अर्ब २४ करोड आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १८ अर्ब ७ करोड थियो । दूरसञ्चार सेवाबाहेक वित्तीय आम्दानी पनि घटेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ६१ करोड छ । नाफा घट्दा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ । हाल वार्षिक प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा छ । गत वर्ष यस्तो आम्दानी ४७ रुपैयाँ २८ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८० रुपैयाँ छ ।

नेटवर्थका आधारमा टेलिकम उत्कृष्ट देखिँदा घट्दो बिजनेस र नाफा चुनौतिका रुपमा देखिन थालेको छ । पछिल्लो समय प्रत्येक्ष ‘भ्वाइस’ सेवाभन्दा निश्चित ब्रोडब्यान्डमार्फतका सेवातिर ग्राहकको आकर्षण बढ्नु, ब्रोडब्यान्ड सर्भिस विस्तारले मोबाइल डाटामा कमी आउनुजस्ता कारणले आम्दानी घट्नुलाई कम्पनीले चुनौतीका रुपमा औंल्याएको छ । १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सर्वसाधारण समूहमा जारी सेयर जम्मा ८.४७ प्रतिशत अर्थात् १ करोड ५२ लाख ४६ हजार कित्ता छ । बाँकी ९१.५३ प्रतिशत सेयर संस्थापक समूह अर्थात् सरकारी स्वामित्वको हो । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिएको थियो ।