समाचार

नवलपरासीको पश्चिममा हजुरबुवा र नाती मृत फेला



काठमाडौँ, १ फागुन । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा फेला परेका हुन् । उनीहरु विगत ४/५ बर्ष अगाडिदेखि खपट्टाले छाएको कच्ची छाप्रोमा बस्दै खेतिपाती गर्दै आएका थिए ।

यक्षलाल एक छोरा, बुहारी र दुई नाती र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीको सिलसिलामा एक-डेढ महिनाअघि भारत गएका थिए । श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातीसँग मात्र बस्दै आएका थिए ।

दुई जनाको शव फेला परेको सूचना पाएपछि प्रहरी पुगेको र उनीहरुको मृत्युको कारण नखुलेकोले तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।