समाचार

काभ्रेमा १३ गतेबाट खोप अभियान



काभ्रे, ९ फागुन । काभ्रेमा आगामी फागुन १३ गतेबाट एकीकृत खोप अभियान संचालन गरिने भएको छ ।

 जिल्ला खोप समन्वय समिति काभ्रेका अनुसार फाल्गुन १३ गतेबाट एकिकृत खोप अभियान संचालन गर्ने भएको हो । फागुन १९ गतेसम्म संचालन हुने खोप अभियान अन्तर्गत काभ्रेका ९ महिनादेखि ५ वर्षसम्मका २३ हजार ९५८ बालबालिकालाइ दादुरा रुबेला विरुद्धको खोप लगाइने छ ।

दादुरा रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानसंगै नियमित खोप लगाउन छुट भएकाहरुलाई खोप लगाइने छ । काभ्रेमा २ चरणमा अभियान संचालन गरिने छ । खोप अभियानमा काभ्रेका १३ मध्ये ११ वटा स्थानीय तहमा पहिलो चरणमा र २ वटा स्थानीय तहमा दोस्रो चरणमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खानीखोला र महाभारत गाउँपालिकामा दोस्रो चरणमा खोप अभियान संचालन हुनेछ भने अन्य सबै स्थानीय तहमा पहिलो चरणमा नै खोप लगाइने छ ।