राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंग्याउन लेखकको प्रस्ताव



काठमाडौँ, ११ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रवार बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गरेर यो विधेयक फागुन १९ गते भित्र टुङ्गो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसद्को पूर्ण बैठकले टुङ्गो लगाउने गरी संसद्मा पठाउन ढिलाइ गर्न नहुने बताए ।