राजनीति

त्रिविलाई स्कुल मोडलमा चलाउने उपकुलपतिको घोषणा



काठमाडौँ, १२ फागुन । नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभाग खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार पदभार ग्रहणपछि कार्ययोजना र सोचपत्र सार्वजनिक गर्दै थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने बताए । 

बरालले तत्कालीन र दीर्घकालीन गरी आफ्ना कार्यभारको व्याख्या गरेका थिए । विभागहरू खारेज गरेर स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै त्रिविलाई शैक्षिक उत्कृष्टताको केन्द्रतर्फ लैजाने भनाइ थियो । उनले त्यसका लागि मापदण्ड तोकेर जानुपर्नेसमेत औंल्याए ।

त्रिविको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने उल्लेख छ । उपकुलपति बरालले आंगिक क्याम्पसहरूमा रहेका अनावश्यक विभागसमेत गाभेर स्कुल बनाउने घोषणा गरेका हुन् । तत्कालीन शिक्षाध्यक्ष (रेक्टर) शिवलाल भुसाल संयोजक कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ । जेठो र ठूलो त्रिविको पुनःसंरचना गर्न विज्ञहरूले पनि विभाग बन्द गरेर स्कुल मोडलमा जान सुझाव दिएका छन् ।

‘त्रिवि भिजन २०२०–०३०’ मा पनि उक्त प्रस्ताव गरिएको छ । विभागलाई १७ वटा शैक्षिक स्वायत्तता प्राप्त स्कुलमा समायोजन गरिने बजेट कार्यक्रममै उल्लेख छ । प्राध्यापकका अनुसार स्कुल मोडल भनेको छुट्टाछुट्टै सञ्चालित मिल्दाजुल्दा विषय भएका कार्यक्रमलाई एउटै संकायमा गाभेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नु हो । स्कुल मोडलमा जान सके खर्च कटौती हुने र आत्मनिर्भर खालका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने कार्यदलको समेत निष्कर्ष छ ।

उपकुलपति बरालले त्रिविलाई पुनःसंरचनामा लैजाने बताउँदै त्यसका लागि प्रदेशस्तरमा पूर्वाधार निर्माण र तयारीको काम थालनी गरिने उल्लेख गरे । त्रिविलाई सातैवटा प्रदेशमा विस्तार गरेर विकेन्द्रीकरणमा लैजानुपर्ने शिक्षाविद्हरूको मत छ । त्यसका लागि सरकारको समेत योजना र सहयोगको उनले माग गरे । विद्यार्थी आकर्षण घट्दो त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयन गरेर गुमेको साख फर्काउने उनको दाबी थियो । उपकुलपति छनोट तथा सिफारिस समितिलाई पेस गरेको कार्ययोजना र सोचपत्रबारे उनले मानविकी र शिक्षा संकायलाई पुनर्जीवित गरिने उल्लेख गरेका थिए । ‘परम्परागत मानविकीलाई रूपान्तरण गर्न प्रयास गर्नेछु,’ उनले भने, ‘४ वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाइन्छ । अन्तर्राष्ट्रिय रूपमा मिलाउन एक वर्ष थप गरेर ४ वर्षे कोर्स पनि निरन्तरता दिनुपर्छ ।’

वैकल्पिक उपचार विधि (आम्ची), आयुर्वेदलाई आधुनिक विधिसँग जोड्ने गरी पाठ्यक्रम विकास गर्ने र पठनपाठन थाल्ने उनको घोषणा छ । प्राध्यापक, कर्मचारीलाई विद्यार्थी केन्द्रित भएर त्रिविको ऐन नियमअनुसार चल्न पनि उनले निर्देशन दिए । ‘उपकुलपति एक्लैले त्रिवि सुधार गर्न सक्दैन, खस्केको त्रिविलाई ट्र्याकमा ल्याउन शिक्षक, विद्यार्थी र कर्मचारी एकजुट हुनुपर्छ,’ उनले भने । उपकुलपति लगायत पदाधिकारीले दिएको निर्देशन विश्वविद्यालयको हितमा नभए त्यसलाई कार्यान्वयन गर्न कर्मचारी बाध्य नहुनेसमेत उनले स्मरण गराए । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका बराललाई प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा नियुक्त गरेको थियो ।

उपकुलपति बरालले विश्वविद्यालयबाट दोहोरो सुविधा नलिने घोषणासमेत गरेका छन् । भने, ‘दोहोरो सुविधा लिन्न । पेन्सन लिन्न, तलब मात्रै लिन्छु ।’

उपकुलपतिका योजना

  • त्रिवि पुनःसंरचना, शैक्षिक क्यालेन्डर
  • समयमा नै नतिजा प्रकाशन
  • मानविकी र शिक्षा संकाय पुनःसंरचना
  • विद्यार्थी केन्द्रित शैक्षिक कार्यक्रम
  • आयुर्वेद, आम्चीलगायत नयाा कार्यक्रम

कान्तिपुरबाट