अर्थ

अलैँचीको मूल्य बढ्यो



फुङलिङ, १३ फागुन । अलैँचीको मूल्य बढेको छ । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।

प्रतिमन रु ७० हजारदेखि रु ८० हजारसम्ममा बिक्री भइरहेको छ । सुरुआतमा प्रतिमन रु ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि रु ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन रु ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।

प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ ।