राजनीति

प्रधानमन्त्री संसद्‍ नआएपछि एमाले आक्रोशित, जवाफ दिन सभामुखको रुलिङ



काठमाडौँ, १३ फागुन । प्रतिपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आक्रोश व्यक्त गरेको छ ।

आज बसेको प्रतिनिधि सभामा आकस्मिक समय मागेर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको बताए । 

उनले भने–‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने ठाउँमा आज संसद् छलेर बाहिर हिँडिरहनुभएको छ । यहाँ उठेका कुराहरूलाई उहाँले अनदेखा गरिरहनुभएको छ । यो अत्यन्तै दुख र चिन्ताको कुरा हो । हामी कहिले पनि संसद् अवरोध होस भन्ने चाहँदैन । सरकारले सुनिदियो भने हामीले संसद् अवरुद्ध गर्ने, बेल घेर्ने काम गर्नुपर्दैन ।’

सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।