राजनीति

जापान दिगो र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल



काठमाडौँ, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् । 

आज नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताएका हुन् । 

उनले भने, ‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्त्वपूर्ण रहने छन् ।’

उनले नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।