Banner News

संसदमा रविको प्रश्न : सदनमा जवाफ नदिने, मिडियामा गएर ओठे जवाफ दिने ? 



काठमाडौँ, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले सदनलाई लडाइँ गर्ने क्षेत्र बनाइएको हो भन्दै प्रश्न गरेका छन् ।

उनले सभामुखले पटक–पटक रुलिङ गर्दा समेत सरकाले किन जवाफ दिन आनाकानी गरेको भन्दै आवाज उठाए । 

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारलाई एकपछि अर्को गम्भीर आरोप लागेकाले यी विषयमा सदनमा आएर जवाफ दिन के ले रोकेको हो भन्दै प्रश्न थपे । 

उनले भने, “किन राजीनामा मागिरहनुपरेको छ ? यदि समस्या छैन भने र मन्त्रीलाई जवाफ दिने आधार छन्, आरोप निराधार हुन् भने यहाँ उभिएर भन्न के ले रोक्यो सरकारलाई ?,” ।

सांसद लामिछानेले सामन्तवादको अन्त्य गरे भन्दै ऐन जारी गरे पनि मिटरब्याजपीडितहरू किन फेरि काठमाडौँ धाउने बाध्यता आयो भन्दै सरकारलाई प्रश्न गरे ।

“सदनमा द्वन्द्वको परिस्थिति छ, सडकमा उस्तै छ । सडकमा दूध फालेर किसान आन्दोलन गरिरहेका छन् । सरकारले सदनमा विरोध गर्ने ठाउँ दिएको छ । यहाँ उभिएर जवाफ दिनुको सट्टा यो मिडियामा गएर ओठे जवाफ दिने ?,” उनले भने । जवाफ माग्दा सरकारले नसुनेकोमा उनले आपत्ति जनाए ।