राजनीति

पार्टीको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति



काठमाडौँ, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गरेका छन् ।

आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, “मैले आफ्नो तर्फबाट निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो। विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहीन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरू, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुंग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छु ।”