Banner News

गठबन्धन सरकार टिकाउने काममा मात्रै लागेको छः ओली



काठमाण्डौ, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो ।

विराटनगरमा ओलीले सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए ।नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको उनको भनाइ छ । भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरूले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । अर्को एक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि बताए ।