राजनीति

गठबन्धन भत्किन नदिन प्रचण्डलाई माधवको सुझाव



काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् । 

अध्यक्ष नेपाल प्रचण्डलाई भेट्न मंगलबार बिहान उपाध्यक्ष राजेन्द्र पाण्डेसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यसक्रममा राष्ट्रिय सभा अध्यक्षबारे कांग्रेस र माओवादीले गरिरहेको दाबीबारे नेताहरूबिच छलफल भएको थियो ।