राजनीति

विपन्नको उद्यममा महानगरको दमन



काठमाडौँ, १८ फागुन । सुन्धाराको फुटपाथमा कपडा बेचेर गुजारा चलाउँदै आएका अर्जुन भण्डारी सदाझैं बुधबार साँझ सामान लिएर पुगे । बेलुकी साढे सात बजे उनीलगायत सडक व्यवसायी पोका फिजाउँदै थिए, कोही ग्राहक बोलाउँदै थिए । यो उनीहरूको वर्षौंदेखिको दिनचर्या नै हो ।

एक्कासि महानगर प्रहरीको समूहले अन्धाधुन्ध लखेट्न थाल्यो । पोकाबाट सामान निकाल्दै गरेका अर्जुनको ढाडमा अचानक जुत्ता बज्रियो, लट्ठी बज्रियो । लछारपछार गर्न थालियो, उनी सडकमै लडे । ८० जना जति नगर प्रहरीको समूहले आफूहरूमाथि अमानवीय दमन गरेको अर्जुनले बताए ।

सडक व्यवसायीहरू प्रत्येकका सामान खोसिए, कुटपिट गरियो । उनीहरू चोट लागेर रगताम्य भए । नगर प्रहरीको यो हर्कतले घाइते नभएका कोही थिएनन् । दुई जना त गम्भीर घाइते भएका थिए । पूर्वजानकारीबिना आएका नगर प्रहरीले गुजारा मात्रै लुटेनन्, असह्य हुने गरी कुटपिट गरे । ‘हाम्रो घर, जागिर भएको भए सडकमा पसल गर्न आउँदैन थियौं, सडकमा सामान बेचेर दुई छाक टार्नुपर्छ, हामी रहरले आएका होइनौं,’ उनले भने, ‘हिजोदेखि केही खान पाएको छैन, एक जनाबाट पाँच हजार ऋण लिएर उपचार गराएँ ।’

वैकल्पिक व्यवस्था नभएसम्म फुटपाथमा पसल गर्न दिने सम्झौतालाई समेत कुल्चिएर काठमाडौं महानगरले आफूहरूमाथि दमन गरेको अर्जुनले बताए । ‘वार्ता बसौं, समाधान गरौं भनेर महानगरलाई पटकपटक भनेकै छौं, समाधानमा लाग्नुको साटो गुन्डागर्दी शैलीमा हामीमाथि आइलागे,’ उनले भने । वर्षौंदेखि फुटपाथ व्यवसाय गरेर जीविका चलाउँदै आएका आफूहरूलाई महानगरले भोकै मार्ने शैली अपनाएको बताए । ‘मेरो घर बर्दिवास हो, सक्छ भने महानगर मेरो घरसम्म पुगोस्, मेरो परिवारको आर्थिक स्थिति कस्तो छ भनेर, हामी रहरले धूलो खाँदै व्यवसाय गर्न आएका होइनौं । सक्छ भने विकल्प दिओस्, नभए हामीमाथि अत्याचार नगरोस्,’ अर्जुनले भने ।

महानगर प्रहरी बल प्रमुख राजु पाण्डेले भने फुटपाथमा व्यापारिक गतिविधि नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएपछि प्रतिरक्षा गरेको बताए । ‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ गरेर सचेत गराइरहेका थियौं, गएको १५ दिन अघिदेखि व्यापारीहरूले नगर प्रहरीलाई गाली गर्न थालेका थिए,’ पाण्डेले भने, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमान्डर लामिछानेको कमान्डमा प्रहरीहरू सुन्धारा जानुभएको थियो, उहाँ पुग्नेबित्तिकै आक्रमण भयो । भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुंगा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो ।’ कान्तिपुरबाट