राजनीति

जेनेस सोलुसनविरुद्ध मुद्दा



काठमाडौँ, १८ फागुन । जेनेस सोलुसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोवार ऐन अनुसारको कारवाहीको माग गर्दै मुद्धा दर्ता भएको छ । आइटी सम्बन्धी सेवा दिने भनेर खुलेको कम्पनीबाट सूचना प्रविधीसम्बन्धी सेवा लिने एक कम्पनीको सबै डेटाहरु अनधिकृत रुपमा मेटाएको खुलेपछि मुद्धा दर्ता भएको हो । जेनेसका सिइओ अञ्जनी फुयाँलसहितले सुन्दर ग्रुप अफ कम्पनिजका वेभ होस्ट गरेकोमा अनधिकृत रूपमा वेभ होस्टमा प्रवेश गरेर कम्पनी र कम्पनीका ग्राहकको सबै डेटाहरु नष्ट गरेको खुलेको हो ।

सुन्दर ग्रुप अफ कम्पनीजले कम्प्युटर तथा लेखा सम्बन्धी मेसिनहरूको कारोबार गर्ने, विभिन्न वस्तुहरूको आयात(निर्यात लगायतका काम गर्दै आएको थियो । उनीहरूले प्रोजेक्ट र डेटाहरू निर्माण गरेर जेनेसमार्फत होस्टिङ गरेका थिए । उनीहरूले कुनै सूचना नै नदिई सामाग्रीहरू नष्ट गरेको कम्पनीले दाबी गरेको थियो । उसलाई आफ्नो डाटा माग्दा गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताइएको छ । जसले गर्दा व्यापारिक, आर्थिक, मानसिक, ख्याती तथा गोपनीयताको क्षती भएको दावी गरिएको छ ।

सोलुसनका सिइओ फुँयालमाथि विद्धुतीय कारोबार ऐन अनुसार काठमाडौँ जिल्ला अदालतमा मुद्धा समेत दायर भइसकेको छ । तर फुँयाल फेला परेका छैनन् । फरार रहेका उनी पछिल्लो समय नाइजेरियामा सक्रिय रहेको पाइएको छ । बेलायतमा बस्दै आएका उनले कम्पनीको मुख्य कार्यालय बेलायतमा रहेको दावी गर्ने गरेका छन् । फुयाँलले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरूलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुसन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवा उपलब्ध गराउन कार्यालय विस्तार गरेको जानकारी दिएका थिए ।

जेनेसको कार्यालय नेपालमा समेत छ । हामीलाई प्राप्त गरेको प्रमाणमा उनी नेपाली र बेलायती दुवैतिरको नागरिक रहेको देखिन्छ । बेलायती नागरिक बनेपछि पनि उनले नेपाली नागरिकता त्यागेका छैनन् । एक्सपोर्टको काम गर्दै आएको सुन्दर प्रालीले आफ्नो र ग्राहकहरूको वेभ जेनेसबाट होस्ट गराएका थिए । एकाएक कम्पनीको सबै डेटाहरू मेटाइयो । सुन्दर ग्रुपले मेटाइएको आफ्ना डेटाहरू माग्दा नदिएको भन्दै सो डेटा मेटाउँदा कम्पनीलाई ठुलो आर्थिक क्षति भएको र सो डेटाहरूको दुरुपयोग हुनसक्ने भन्दै कम्पनीका प्रबन्ध निर्देशक कविराज कँडेलले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको थियो ।

ब्युरोले गरेको अनुसन्धानमा अमेजन वेभ सर्भिसबाट प्राप्त विवरणलगायतको अध्ययनबाट जेनेस सोलुसनको आइडीबाट अनधिकृत रूपमा प्रवेश गरेर डेटा डिलिट गरेको भन्दै अञ्जनीसँगै अनिता फुयाँल, रमा फुयाँल र नेपालस्थित कार्यालयका सिइओ प्रसन्न पोखरेललाई प्रतिवादी बनाएको थियो । प्रसन्न पोखरेल पक्राउ परे । उनले जेनेस कम्पनी वैदेशिक लगानीको रूपमा दर्ता भएको कम्पनी रहेको र यसको ग्लोबल सिइओ अञ्जनीकुमार फुयाँल रहेको खुलाएका थिए । अभियोग पत्रको आधारमा मुद्दा अगाडि बढ्यो । तर न अञ्जनी पक्राउ परेका छन् न त सुन्दर कम्पनीले नै आफ्नो डेटाहरू फिर्ता पाएको छ ।