समाचार

काठमाडौँ महानगरभित्रका ११८ औषधि पसल मापदण्डविपरीत



काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका अधिकांश औषधि पसल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ ।

महानगरको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि गरेको अनुगमनमा ११८ वटा औषधि पसल मापदण्डविपरीत रहेको पाइएको हो ।  

वडा नं. १, २ र ३ का अधिकांश र अन्य वडामा गरी ११८ वटा पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ । तीमध्ये कुनै फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको, कुनैले तापक्रम नमिलाएको कोल्डचेन मेन्टेन नगरेको लगायतका समस्या देखिएको थियो । 

यस्तै, औषधि पसल दर्तावाला व्यक्ति पसलमा नबसेको, औषधि व्यवस्था विभागमा दर्ता भइ महानगरमा दर्ता नभएको पाइएको अनुगमन समितिकी संयोजक तथा महानगरकी उपमेयर सुनिता डंगोलले बताइन् ।