समाचार

त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा



काठमाडौँ, २० फागुन । अर्को साता हङकङमा हुने टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल पनि यसपटक टिममा परेका छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी र कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी भने टिममा छैनन् । नामिबिया र नेदरल्याण्ड्ससँगको त्रिकोणात्मक सिरिज खेलेका अनिल साहसमेत छैनन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।

फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द , अविनाश बोहोरा ।