Banner News

सूचना प्रविधिमा युवा वैज्ञानिकहरूले गरेको प्रगतिलाई सम्मान गरौँः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताएका छन् ।

आज ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । 

उनले भने, “राज्यको प्राथमिकता र प्रोत्साहनबिना नै युवा वैज्ञानिकहरूले गरेको प्रयास, प्राप्त गरेको सफलता र राज्यलाई गरेको योगदान सबैका निम्ति सकारात्मक प्रेरणा हो,” “यसले राष्ट्रिय आयका क्षेत्रहरूमध्ये सूचना–प्रविधिको क्षेत्र विशेष सम्भावनायुक्त क्षेत्र भएको यथार्थ प्रमाणित गर्दछ ।”

नेपालको निर्यातजन्य सेवाको रूपमा सूचना प्रविधि एक उदाउँदो क्षेत्रको रूपमा आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा कृत्रिम बौद्धिकतासम्वन्धी कार्यहरू व्यावसायिक रूपमा पनि उदय भइरहेको छ । हामी आयातित प्रविधिको उपभोग गर्ने मात्र नभई नेपालमा नै नयाँ प्रविधिहरू विकास गर्नेतर्फ सचेत भएर सोच्न र लाग्न जरूरी छ,” “त्यस्तै, सूचना प्रविधि नेपालको रणनीतिक उपयोगको क्षेत्र भएकाले यस क्षेत्रको उत्पादनमा हामी आत्मनिर्भर बन्न सबैको ध्यान पुग्न जरूरी छ । यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न सरकार तत्पर छ ।”