राजनीति

न्यायसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने प्रक्रियामै छौँ : मन्त्री शर्मा



काठमाडौँ, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै रहेको बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी हुन् ।

उनले भनिन्, “मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पुर्याउनुपर्छ, यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ”, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।”