राजनीति

महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, २१ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शैक्षिक,आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताएकी छन् ।

आज वीरेन्द्रनगरमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा बोल्दै भण्डारीले पुरातनवादी सोचका कारण महिलाहरू अझै पनि सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताउँदै भण्डारीले त्यसका विरुद्धमा निरन्तर सङ्घर्ष गरिराख्नुपर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘महिलाको क्षेत्रमा विभिन्न नीतिगत एवम् कार्यक्रमहरू भए पनि समाजमा विद्यमान पुरातनवादी सोचका कारण हरेक हिसाबले महिलाहरू अझै पछि छन् ।’ 

यद्यपि नेपालले महिला अधिकार र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य सुधार भने भएको उनको भनाइ थियो । उनले भनिन्,  ‘संविधानमै महिलाको ३३ प्रतिशत संसद्मा प्रतिनिधित्व सुनिश्चित गरिएको छ,  प्रदेशदेखि स्थानीय तहमा पनि महिलाको भूमिका निकै महत्त्वपूर्ण हुँदै गइरहेको छ,’ ‘महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिहरू विश्व महिला आन्दोलनका लागि उदाहरणीय बनेका छन् ।’