समाचार

कोरला सडक योजनाअन्तर्गत तिप्ल्याङमा घरटहरा भत्काउन थालियो



काठमाडौँ, २३ फागुन । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए । सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो । गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो ।