राजनीति

मन्त्रिपरिषद् विस्तार : समर्थन संकुचित



काठमाडौँ, २४ फागुन । लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मन्त्रालयको भागबन्डा भएको छ । 

चार दलीय गठबन्धनको साझेदार जनता समाजवादी पार्टी भने पार्टीको आन्तरिक कारण देखाउँदै सरकारमा सहभागी भएको छैन । एमाले एक वर्ष नौ दिनपछि र रास्वपा एक वर्ष एक महिनापछि पुनः दाहाल सरकारमा सहभागी भएको छ । नयाँ सत्ता गठबन्धनमा सहभागी एमालेबाट ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र नेकपा एकीकृत समाजवादीका २ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए ।

तीन उपप्रधानसहित १६ जना मन्त्रीलाई शपथ गराउँदै १९ मन्त्रीको मन्त्रालय तोकिएको हो । सोमबार नै शपथ लिएका ३ मन्त्रीको पनि मन्त्रालय तोकिएको छ । उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र र गृहमन्त्रीमा क्रमशः एमाले सचिव रघुवीर महासेठ, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । यी तीन उपप्रधानमन्त्री यसअघि पनि मन्त्री भइसकेका छन् ।

माओवादीले अर्थमन्त्री वर्षमान पुन र पर्यटनमन्त्री हितबहादुर तामाङबाहेक चार मन्त्रीलाई दोहोर्‍याएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृहबाट परराष्ट्रमा सरुवा गरिएको छ भने ऊर्जामा सचिव शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मालाई दोहोर्‍याएको छ । माओवादी एक नेताका अनुसार ती मन्त्रीले सुरु गरेका महत्त्वपूर्ण काम पूरा गर्न दोहोर्‍याएको हो । एमालेका मन्त्रीको नाम पदाधिकारी बैठकले टुंगो लगाएको थियो भने सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालले निकट नेताहरूसँग सल्लाह गरी मन्त्री सिफारिस गरेका थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठले एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका हुन् । उनले यसअघि पनि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी निर्बाह गरिसकेका छन् । उनी पूर्वउपप्रधान र पूर्वपरराष्ट्रमन्त्रीसमेत हुन् । मधेश प्रदेशको धनुषा–४ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ६२ वर्षीय उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका छन् । २०३३ सालमा तत्कालीन मालेको सदस्यता लिएर उनले राजनीतिको थालनी गरेका थिए । २०५४ सालदेखि एमाले केन्द्रीय सदस्य रहेका उनी धनुषाबाट ३ पटक सांसद निर्वाचित भइसकेका छन् ।

अर्का उपप्रधानमन्त्री श्रेष्ठले शपथलगत्तै परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभाका ६३ वर्षीय सांसद श्रेष्ठ २०६८ मा पनि परराष्ट्रमन्त्रीको जिम्मेवारीमा थिए । गोरखाका उनले जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । शिक्षण र स्वास्थ्यकर्मी हुँदै उनी एकता केन्द्रको महासचिवबाट माओवादी केन्द्रमा पार्टी एकता गर्दै प्रवेश गरेका थिए । २०६५ देखि पार्टी उपाध्यक्ष छन् । उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएको करिब १३ महिनापछि रास्वपा सभापति लामिछाने पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन् ।

२०७९ माघ १३ गते उनले पुनः नागरिकता लिँदा प्रक्रिया नपुर्‍याएकाले सांसद पदसमेत खारेज भएपछि गृहमन्त्रीबाट हटेका थिए । त्यतिबेला उनी ३३ दिन मात्र गृह मन्त्रालयको जिम्मेवारीमा रहे । उक्त विवादमा सर्वोच्च अदालतको फैसलाबाट उनी पदमुक्त भएका थिए । गत वैशाखमा भएको उपनिर्वाचनमा उनी चितवन–२ बाट ६९ प्रतिशत मतसहित निर्वाचित भएर पुनः संसद्मा प्रवेश गरेका हुन् । प्रमाणपत्र तहसम्म अध्ययन हासिल गरेका ४८ वर्षीय लामिछाने १४ वर्ष अमेरिका बसेर फर्किएर पत्रकारितामा सक्रिय थिए । रास्वपा गठन हुनुअघि सञ्चारकर्मीको भूमिकामा थिए । उनी ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमका पूर्वप्रस्तोता हुन् । क्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा समेत रहे ।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनअघि उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरिएको थियो । रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा व्याख्या गरिँदै आएको छ । रास्वपाले स्थापनाको छोटो समयमै प्रत्यक्ष र समानुपातिकतर्फबाट २२ सिट प्राप्त गर्दै संसद्‍मा चौथो दलको स्थान सुरक्षित गर्न सफल भएको थियो ।

२०६४ देखि लगातार सांसद र २०६७ देखि दुई मन्त्री भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनेका छन् । उनी २०६८ मा पनि बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । रोल्पाबाट निर्वाचित ५२ वर्षीय उनी शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा जलस्रोतमन्त्री भइसकेका छन् । नयाँ सत्ता गठबन्धन बनाउन सूत्राधारको भूमिका खेलेका उनी प्रधानमन्त्री दाहालका विश्वासपात्र हुन् । मन्त्री हुनुअघि उनी दाहालका अनौपचारिक सल्लाहकारका रूपमा काम गर्दै आएका थिए । अर्थ मन्त्रालयको दोस्रो इनिङस्का रूपमा मुलुकको आर्थिक वृद्धि गरी सरकारको मुख्य तीन उद्देश्यमध्ये ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् ।

माओवादीबाट पार्टी उपमहासचिवसमेत रहेका शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ र स्थायी समिति सदस्य रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निरन्तरता पाएका छन् । बस्नेत जाजरकोट र शर्मा दाङबाट निर्वाचित सांसद हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार हितबहादुर तामाङले सम्हालेका छन् । नुवाकोटबाट निर्वाचित उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पूर्वयुवा तथा खेलकुदमन्त्री समेत हुन् । तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसीसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियुका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ सालमा केन्द्रीय सदस्य बने । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पर्वत–१ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि उनी एमाले प्रमुख सचेतक थिए । उनीसँग २०७९ पुसमा करिब तीन महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भएको अनुभव छ । मानविकीमा स्नातकोत्तर उनी २०४७ मा काफलचौर माविबाट अनेरास्ववियुमा संगठित हुँदै उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै सभापतिसमेत चुनिए । २०७४ मा पनि उनी प्रतिनिधिसभाको सांसद थिए ।

रक्षामन्त्रीको जिम्मेवारी हरि उप्रेतीले पाएका छन् । मधेश प्रदेशको सर्लाही–३ बाट निर्वाचित उप्रेती पूर्वसंविधानसभा सदस्य हुन् भने गिरीसँगै उनले पनि छोटा समय रक्षा मन्त्रालयको नेतृत्वको सम्हालेका थिए । ५६ वर्षीय उनले व्यवस्थापनमा स्नातक गरेका छन् । २०३६ सालदेखि राजनीतिक गतिविधिमा संलग्न हुँदै आएका थिए ।

त्यस्तै एमाले केन्द्रीय सदस्य भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन् । कोशी प्रदेशको सुनसरी–३ बाट प्रत्यक्ष निर्वाचित उनले मानविकी र समाजशास्त्रमा स्नातकोत्तरको उपाधि हासिल गरेकी छन् । पहिलो संविधानसभा सदस्यसमेत रहेकी ५२ वर्षीया चौधरी २०४८ सालदेखि एमालेको सदस्य थिइन् ।

धनकुटा पाख्रिबासका राजेन्द्र राई खानेपानीमन्त्री बनेका छन् । ५९ वर्षीय राई २०७९ मा भूमि व्यवस्थामन्त्री थिए । प्रमाणपत्र तह शैक्षिक योग्यता भएका उनी धनकुटाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जिविस र स्थानीय शान्ति संयोजकको अनुभव उनीसँग छ ।

त्यस्तै सुदूरपश्चिम बैतडीका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका छन् । एमालेको जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष भई काम गरिसकेका भण्डारी २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय थिए । ५० वर्षीय उनले स्नातकसम्मको अध्ययन गरेका छन् । बारा–३ बाट निर्वाचित ज्वालाकुमारी साहले कृषि तथा पशुपन्छी मन्त्रालयको पदभार ग्रहण गरेकी छन् । २०३८ सालमा जन्मेकी उनी माओवादीबाट एमाले प्रवेश गरेकी थिइन् । २०७४ मा मधेश प्रदेशको सदस्य हुँदा उनी एमाले प्रवेश गरेकी हुन् । २०७७ सालमा कृषिमन्त्री बनेकी उनले पुनः सोही मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

एमालेबाटै बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । कपिलवस्तु १ बाट ६३ वर्षीय अधिकारी प्रतिनिधिसभामा निर्वाचित बनेका थिए । २०३४ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध उनले प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका छन् । उनी पूर्वप्रधानाध्यापकसमेत हुन् । २०७० सालमा संविधानसभा सदस्य पनि थिए ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । धादिङका अर्याल समानुपातिक कोटाबाट सांसद चयन भएका हुन् । ४९ वर्षीय उनी २०७९ मा प्रतिनिधिसभाको सदस्य चुनिएका थिए । पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय उनी स्थापनाकालदेखि नै पार्टी सभापति रवि लामिछानेको सहपाठी भएर सक्रिय छन् । राजनीतिमा सक्रिय हुनुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए । वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाजसेवाको क्षेत्रमा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरू दाहाल नेतृत्वको सरकारबाट हटेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठ नियुक्त भएकी छन् । काठमाडौं–२६ की उनी २०७९ सालमा रास्वपाको सदस्यता लिँदै राजनीतिमा उदाएकी हुन् । उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सांसद थिइन् । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् । काठमाडौं इन्द्रचोकका ४२ वर्षीय नवनियुक्त मन्त्री श्रेष्ठले वाणिज्य/व्यापार प्रशासनमा स्नातक तहको योग्यता हासिल गरेका छन् ।

नेकपा एसबाट स्थायी कमिटी सदस्य भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका छन् । बझाङबाट निर्वाचित संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति थिए । डोल्पा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एसबाट उनी मन्त्री चुनिएका हुन् । ४९ वर्षीय बुढा पूर्वपर्यटन राज्यमन्त्री (२०७६) थिए । कान्तिपुर