राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।