राजनीति

प्रधानमन्त्रीले कांग्रेसमाथि विश्वासघात र जनमतको अपमान गरे : कांग्रेस



काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको र कांग्रेसमाथि विश्वासघात गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको टिप्पणी गरे । २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको भन्दै नेता लेखकले त्यतिबेला गरेको प्रतिज्ञा बेवास्ता गरेर प्रधानमन्त्रीले कांग्रेसप्रति कुठाराघात गरेको बताए ।

‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्‍यो यो राजनीतिक बेइमानी हो ।’ व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।