राजनीति

संसद्मा तीन दलबीच जुहारी



काठमाडौँ, २५ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सत्तायात्रा सुरु गरेपछि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख तीन दलका सांसदहरूबीच जुहारी चलेको छ । बैठकको सुरुमै प्रधानमन्त्री दाहालले सांसदहरूले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको थियो ।

फागुन ६ देखि १८ सम्म प्रतिपक्षको बेन्चबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदहरू भने बिहीबार उनीसँगै सत्तापक्ष लहरमा थिए । प्रतिनिधिसभाको यसअघिको बैठकमा सरकारको बचाउमा उभिने सांसदहरू भने प्रतिपक्षको कुर्सीमा पुगेका थिए ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा सांसदहरूले यसअघि शून्य र विशेष समयमा सदनमा उठाएका प्रश्नको जवाफ दिन लागे । ती प्रश्नमा मुख्य गरी ललितपुरको बालकुमारीमा भएको घटनामा प्रहरीको बल प्रयोगबाट दुई युवाको मृत्युमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संलग्नताको विषय थियो । त्यस्तै, टेरामक्स खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले अख्तियारमा गएर बयान दिएको र लुम्बिनीको रामग्रामस्थित जग्गा निजी क्षेत्रलाई दिएको विषयमा तत्कालीन पर्यटनमन्त्री सुदन किरातीको राजीनामा एमाले र रास्वपाले माग्दै आएका थिए । त्यसमा अहिले प्रतिपक्षमै रहेको राप्रपाले पनि सदन अवरुद्ध गर्ने चेतावनी नै दिएको थियो । ती प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनसँगै सांसदका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनर्गठनसँगै असान्दर्भिक भएको छ ।’

रुसी सेनामा नेपालीको संलग्नता, दुग्ध किसान, मिटरब्याजपीडित र सहकारीपीडितका विषयमा विगतमा सदनमा उठेका प्रश्नको जवाफ दिएर प्रधानमन्त्री दाहाल गठबन्धनमा दल परिवर्तन गर्नुपर्नाको विषयमा प्रवेश गरे ।

कांग्रेससँगको गठबन्धनमा व्यक्तिगत र पार्टीगत रूपमा आफूलाई कुनै कठिनाइ नरहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ का रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो,’ उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’ कांग्रेस महासमितिमा गठबन्धनका विषयमा उठेका प्रश्न, धर्मनिरपेक्षतालाई लिएर भएका गतिविधि पनि आफूले एमालेको साथ खोज्नुका कारक रहेको दाहालको भनाइ थियो ।

प्रधानमन्त्री बोलेपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलीय आधारमा आफ्नो धारणा राखेका थिए । गठबन्धन टुट्नुपछाडिका विषय र त्यसका परिणाम तथा आगामी दिनमा प्रतिपक्ष बेन्च कस्तो हुनेछ भन्ने छनक लेखकको प्रस्तुतिमा थियो । प्रधानमन्त्रीले भनेका एक–एक कुराको जवाफ लेखकले दिएका थिए । उनले भने, ‘राजनीति मर्यादा र सम्मानले मात्रै पुग्दैन, राजनीतिमा अरू थोक पनि चाहिन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको विषयलाई स्वीकार गर्दै के भन्न चाहन्छु भने प्रधानमन्त्रीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फी रूपले अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो त्यो हाम्रो ठहर हो ।’

प्रधानमन्त्री दाहालले कांग्रेसले स्थानीय तह, प्रतिनिधिसभालगायतका निर्वाचनमा माओवादीलाई साथ नदिँदा खटपट सुरु भएको कुरा उठाए । निर्वाचनपछि पूर्वसहमतिविपरीत कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्व नदिएको पनि पनि उनले बताए ।

‘एउटा परिस्थितिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसीमा त्यो ‘विद्रोह’ दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्‍यो,’ उनले भने ।

तर, लेखकले भने दाहालले लगाएका आरोपहरू कपोलकल्पित कथा, तथाकथित कारण, सानातिना मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम भएको बताए । ‘मेरो राजनीतिक प्रतिबद्धता र विकासप्रतिको छटपटीका कारणले मैले यो कदम सोचविचार गरेर नै चालेको छु । यसलाई इमान र बेइमानको भन्दा राजनीतिक प्रतिबद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित होला,’ उनले भने, ‘आफूसँग हुँदा इमान अरूसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन । यो राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने कुरा हो । राजनीतिमा केही आशंका पैदा भएपछि त्यो अवस्था आएकै हो ।’ दाहालको यो प्रस्टीकरणबारे लेखकले भने, ‘हामीले कठोरतापूर्वक, निर्ममतापूर्वक राजनीतिक विषय भएको हुनाले भन्नै पर्‍यो, यो राजनीतिक बेइमानी हो ।’

लेखकले कांग्रेसको आन्तरिक मामिलामा टिप्पणी गरेको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गरे । ‘गठबन्धन किन छोड्नुभयो भन्दा त कांग्रेसको महासमितिले केको एउटा स्टल लगायो रे । कांग्रेस लोकतान्त्रिक पार्टी हो । हामी बहुलवादमा विश्वास गर्छौं । हामी मात्रै विश्वास गर्दैनौं, अरू कतिपय साथीहरूलाई सिकाएका छौं, यति हेक्का रहोस्, विचारहरू उठ्छन्,’ लेखकले भने, ‘जहाँसम्म प्रधानमन्त्रीले हिन्दु धर्मको कुरा गर्नुभएको छ, त्यो कांग्रेसको आधिकारिक एजेन्डा होइन । महासमितिमा त्यसमा छलफल भएर पारित भएको छैन ।’

दाहालले संविधानप्रति कांग्रेसको प्रतिबद्धतामा आशंका गरेकोमा लेखकले त्यसको प्रतिवाद गरे । ‘हामी यो संविधानप्रति प्रतिबद्ध छौं, पटक–पटक भनेका छौं किनभने यो संविधान निर्माणमा हाम्रो नेतृत्व र सहभागिता हो । हामी यो संविधानप्रति कसैभन्दा कमजोर प्रतिबद्धता लिएर यहाँ बसेका छैनौं । हाम्रो सबैभन्दा ज्यादा इमानदार प्रतिबद्धता संविधानका प्रति छ,’ लेखकले प्रश्न गरे, ‘कांग्रेसको आधिकारिक धारणा बन्दै नबनेको, हुँदै नभएको, पार्टीको आधिकारिक संस्थाले निर्णय नै नगरेको विषयलाई लिएर तपाईंले कुनै राजनीतिक घटना गराउनुभएको हो भने त्यो कांग्रेसको कमजोरी हो ?’

प्रधानमन्त्रीले काममा तीव्रता खोज्दा मन्त्रीहरूबाट साथ नपाएको संकेत गरे । सत्ता घटक दलबाट आफूले साथ नपाएको उनको भनाइ थियो । ‘संकेतमा केवल यत्ति भन्छु, साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन ।’ त्यस्तो अवस्थामा तदर्थ सरकार चलाएर पदको रक्षा गर्ने कि जोखिम उठाउने विकल्प आफूसामु रहेकोमा दोस्रो निर्णय लिएको दाहालको भनाइ थियो । मन्त्रीहरूबाट साथ नपाएको भन्ने दाहालको भनाइमा लेखकले आफू मुखिया भएर अरूले काम गरेनन् भन्ने जवाफ दिए । मन्त्रीहरूले काम नगर्नुका पछाडि प्रधानमन्त्रीको कमजोरी रहेको भन्दै लेखकले एमालेलाई सरकारको नेतृत्व दिन चुनौती दाहाललाई दिएका थिए । ‘मन्त्रीहरू प्रधानमन्त्रीका औजार हुन् । औजारलाई दोष दिएर राम्रो शिल्पी भाग्न हुन्छ, उन्मुक्ति पाइन्छ ?,’ लेखकको प्रश्न थियो ।

सत्ता गठबन्धनमा देखिएका बेमेललाई संवैधानिक निकास दिएको एमाले उपाध्यक्ष पौडेलको भनाइ छ । ‘दलहरू मिलेर सरकार बनाउँछन् भने सरकार परिवर्तन गर्न पाउँछन् कि पाउँदैनन् ? हाम्रो संविधानले त्यो प्रबन्ध गरेको छ कि छैन ? त्यसका निम्ति अनुमति दिएको छ कि छैन ? त्यो बाटो हामीले हिँड्न पाउँछौं कि पाउँदैनौं ?,’ पौडेलले कांग्रेसलाई सोधे, ‘सहकार्य गर्न पाइन्छ, गठबन्धन गर्न पनि पाइन्छ तर केवल कांग्रेससँग मात्रै भनेर लेख्नुपर्थ्यो संविधानमा ?’ कान्तिपुरबाट