समाचार

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य



काठमाडौँ, २६ फागुन । सगरमाथा आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । 

गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने एकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने एकिन समेत भएको छैन ।

यसैगरी सगरमाथामा हरेक वर्ष कोही न कोही आरोही हराउँछन् । उनीहरुको शव खोज्न कठिन हुँदै आएका छन् । सगरमाथामा आरोही हराउने र हिउँभित्र खोज्न समस्या हुने समस्यालाई कम गर्न सरकारले यही आरोहणयामबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अवस्थामा शव खोज्न पनि सजिलो होस भनेर विद्युतीय चिप्स अनिवार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए ।

पर्वतारोहीका लागि यस्तो चिप्स विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ ।