राजनीति

अर्थमन्त्री पुन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता  



काठमाडौँ, २७ फागुन । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । 

भेटका क्रममा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गो लाग्ने र त्यस लगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।  ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’ 

उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देशहरू पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे । भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए ।