राजनीति

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित



गोरखा, २८ फागुन । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।

आठौँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार राति सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले हराएर विजयी भएका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए ।

उपाध्यक्षमा कमल दानी र कृष्ण काप्रीलाई हराएर मेनबहादुर अधिकारी विजयी भए । अधिकारीले २७० मत प्राप्त गर्दा दानीले १२१ र काप्रीले ७१ मत ल्याए । सचिवमा सर्वाधिक ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए । 

उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ मत सहित विजयी हुँदा प्रतिस्पर्धीहरू विष्णुप्रसाद पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत पाए । अर्को उपसचिवमा चापागाईंले ३२० मत पाउँदा नानीमाया थापाले १५० मत ल्याइन् ।