अर्थ

पूर्वउपराष्ट्रपति पुनको सचिवालय नै सुन तस्करीमा



काठमाडौँ, २९ फागुन । छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् । 

गत मंसिर २१ मा तस्करी गरेर ल्याएको १४ किलो सुनसहित गोरखाका चन्द्र घले विमानस्थलबाट पक्राउ परेका थिए । तस्करीको जालो खोज्दै जाँदा अनुसन्धानकर्मीहरू गोरखाकै मीन घले हुँदै गुरुङसम्म पुगेका हुन् । सुन तस्करी प्रकरणमा संलग्नता भेटेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फागुन १४ मा उनलाई पक्राउ गरी छानबिन तथा अनुसन्धान गरिरहेको छ । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन् ।

गुरुङ पक्राउ परेपछि तस्करीमा संलग्न माथिल्लो तहसम्मको खोजी गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन तथा अनुसन्धानअनुसार भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गर्ने गरेको भेटिएको हो । ‘भरियाहरूले ल्याएको सुन गोरखाका मीन घले हुँदै गुरुङसम्म पुग्ने गरेको पुष्टि भएको छ, त्यसैले उपराष्ट्रपतिको सचिवालयबाटै गिरोह परिचालन हुने गरेको देखिएको छ, अहिले गुरुङविरुद्ध मुद्दाको तयारी छ,’ अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले भने ।

घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानबिनका क्रममा खुलेको थियो । ‘भरियाले तस्करी गरी ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेपछि सुरुमा मीनले बुझ्थे । त्यसपछि गुरुङको जिम्मा लगाउने गरेको प्रमाण भेटिएको छ,’ अधिकारीले भने, ‘सरकारी वकिलको कार्यालयबाट राय लिएर गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारीमा छौं ।’ २०७२ कात्तिकदेखि २०७९ चैत ६ सम्म दुई कार्यकाल गरी करिब ७ वर्ष पुन उपराष्ट्रपति हुँदा गुरुङ परराष्ट्र विज्ञका रूपमा ‘कोर टिम’ मा थिए । त्यसैबेलादेखि नै उनले तस्करीको सुन बुझिलिने गरेको भन्सारका अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

तस्करीको सुन गुरुङको समूहले भारतीय बजारसम्म पुर्‍याउने गरेको आरोपमा भन्सारले उनीविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । गुरुङले तस्करी धन्दा चलाउन विभिन्न व्यक्तिका नाममा सिम निकालेर प्रयोग गर्ने गरेको पनि भेटिएको छ । ‘करिब ३ महिनासम्म गुरुङ फरार रहेकाले अनुसन्धानको गहिराइमा पुग्न ढिलाइ भइरहेको थियो,’ भन्सारका अधिकारीले भने, ‘मंसिरमा घलेलगायतका भरियाहरू पक्राउ परेपछि गुरुङले मोबाइल सेटसमेत परिवर्तन गरिसकेछन्, अनुसन्धानबाट प्रमाणहरू जुटेका छन्, थप प्रमाण जुटाउने क्रम जारी छ ।’

त्रिभुवन विमानस्थलबाट पछिल्लो समय भइरहेको सुन तस्करीको ‘मुख्य नाइके’ गुरुङ रहेको दाबी गर्दै भन्सार विभागले छानबिन र अनुसन्धान अघि बढाएको थियो । उनीविरुद्ध पुस पहिलो साता पक्राउ पुर्जी जारी भएको थियो । पर्वत स्थायी घर भएका उनी त्यसलगत्तै फरार थिए । त्यतिबेला सुन ल्याउन भरियालाई दुबई पठाउने गोरखाका मीन घले र लमजुङका दनबहादुर गुरुङलाई समेत गुरुङले परिचालन गर्ने गरेको अनुसन्धानमा भेटिएको थियो ।

मंसिरअघि पनि मीन र दनबहादुरले गोरखाका चन्द्र र स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई पटकपटक सुन लिन दुबई पठाएको पाइएको थियो । मीन र दनबहादुर गुरुङको खटनपटनमा तस्करीमा संलग्न भएको पाइएको ती अधिकारीले जनाए ।

२०७९ मंसिरदेखि एक वर्षभित्रमा कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मीनले १४ किलो र चन्द्रले ४, ८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थल हुँदै बाहिर निकालेको स्वीकार गरेको भन्सार विभागले जनाएको छ । तस्करीको सुनको रुट मिलाउने योजनाकार गुरुङ नै रहेको भन्सार अधिकारीहरूको भनाइ छ ।

गुरुङले सुन ल्याउन मीन र दनबहादुरलाई परिचालन गर्ने र उनीहरूले चन्द्र र कृष्णकुमारलाई दुबई पठाउने गरेको विभागले भन्सार अधिकृत मीनराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले फेला पारेको थियो । उनीहरूले दुबईमा भारतीय नागरिक अंककत अग्रवाल र गुरु भनिने व्यक्तिलाई भेटेर सुन ल्याउँथे । मीन स्वयं पनि सुन बोक्न दुबई जाने–आउने गरेको भेटिएको थियो । मीनकी श्रीमती धनकुमारी र दनबहादुरकी श्रीमती बिनाले समेत भरियाहरूसँग कुराकानी गरेर सुन बुझ्ने गरेको भेटिएको थियो । यो सुन अन्ततः पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ कहाँ पुग्ने गरेको पाइएको हो ।

तस्करहरूले ल्याएको सुन विमानस्थलको शौचालयभित्र लुकाएर राख्ने र त्यहाँबाट नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा विमानस्थलभित्रैकै ‘चोर बाटो’ हुँदै सुरक्षा जाँच छलेर बाहिर निकाल्ने गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । विमानस्थलबाट सुन बाहिर निकाल्ने काममा प्राधिकरणका कर्मचारीहरू काठमाडौंका शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, नुवाकोटका लेकबहादुर तामाङ, धादिङका अनिल श्रेष्ठ र रमेश देउला संलग्न रहेको पाइएको थियो ।

विभागका अनुसार मीन, चन्द्र र धनबहादुरको १० वर्षअघिदेखि नै विदेश आउजाउ शंकास्पद र अस्वाभाविक देखिएको छ । उनीहरूले त्यतिबेलादेखि नै सुन तस्करी गरिरहेको निष्कर्षसहित छानबिन समितिले सुन सहजै ल्याउन सक्ने दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायतका देशमा पटकपटक आवागमन गरिरहेका यात्रुमाथि निगरानी बढाउनुपर्ने र उक्त सूचना प्रहरी, भन्सार र अध्यागमनलाई दिने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ ।

गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट बाहिर निकाल्दै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । त्यसअघि २०७९ पुस १० मा पनि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन विमानस्थलबाटै बरामद भएको थियो । ती प्रकरणमा पक्राउ परेकाहरूको सम्बन्ध पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँग देखिएको थियो । ९ किलो सुन तस्करीको आरोपमा राहुल पुर्पक्षका लागि थुनामा छन् । दीपेशले भने उन्मुक्ति पाउँदै आएका छन् । कान्तिपुरबाट