समाचार

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न



काठमाडौँ, २९ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् ।

देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । 

हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन सकेको छैन । यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।