राजनीति

रुसी सेनामा रहेका नेपाली फिर्ता ल्याउन प्रयत्न गरिरहेका छौं : मन्त्री श्रेष्ठ



काठमाडौँ, २९ फागुन । रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्थाबारे बुझ्नका लागि नेपालले गरिरहेको लगातारको प्रयासपछि गत बिहीबार रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच टेलिफोन कुराकानी भएको थियो ।

कुराकानीमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या, लडाइँका क्रममा मारिएकाको शव नेपाल ल्याइदिन, क्षतिपूर्ति दिन र नेपालीलाई रुसी सेनामा भर्ती नलिन तथा भर्ती भएकालाई फिर्ता पठाइदिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री श्रेष्ठले आग्रह गरेका थिए । तर रुसी विदेशमन्त्रीले युद्धका क्रममा मारिएकाका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भए पनि अन्य विषयमा भने चर्चा गर्न नचाहेको बुझिएको छ ।