राजनीति

मिटरब्याजपीडित र सरकारबीच चारबुँदे सहमति



काठमाडौँ, २९ फागुन । सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ ।

मिटरब्याजपीडितसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै सरकारी वार्ताटोली र पीडितका प्रतिनिधिबीच चारबुँदे सहमति गरेका छन् । सहमतिमा ‘जाँचबुझ आयोग ऐन, २०२६’ बमोजिम तीन महिनाभित्रमा सरकारसमक्ष प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय आयोग गठन गर्ने भनिएको छ । यसअघिको आयोगले प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाँ उजुरीमाथि पुनः जाँचबुझ गर्ने सहमति भएको छ ।

आयोगलाई प्रमाण संकलन गर्न अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण, सर्जमिन, छलफल र साक्षी किनाराका व्यक्तिहरूसँग बयान लिने, लिखतहरूको वर्गीकरण गरी फर्जी तथा अवैध लिखतहरू खारेजीका लागि सिफारिस गर्ने, अनुचित लेनदेन गरी अस्वाभाविक ऋण लगानी गरेको वा शंकास्पद कागजात खडा गरी अस्वाभाविक आम्दानी गरेको देखिएमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानका लागि सिफारिस गर्ने अधिकारसमेत दिइएको छ ।

मिटरब्याजपीडितहरूले पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटार केन्द्रित प्रदर्शन गरिरहेका थिए । उनीहरू फागुन १४ मा संघीय संसद् भवनमा पनि प्रवेश गरेका थिए । उनीहरूले दिनहुँ प्रधानमन्त्री निवाससम्म प्रदर्शन गर्दै आएका थिए ।